१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई एमालेको सम्मान


६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।

उहाँले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठलगायत पर्वतारोहीलाई खादा लगाई सम्मान गर्नुभयो ।

अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो । कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार २१:५४