१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ: प्रधानमन्त्री दाहाल


६ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ २७ देखि २८ गतेसम्म आफूले गरेको भारतको औपचारिक भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन भ्रमणले योगदान पुर्याएको बताउनुभयो ।

“आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

भ्रमणका क्रममा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गत जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आमनिर्वाचनपश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त हुनुभएका नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा आफू सहभागी भएको उहाँले जानकारी दिनुभयो । उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसमेतको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक सञ्चालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गहन छलफल भएको सदनलाई जानकारी गराउनुभयो ।

गत जेठ २८ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा दुई देशबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा विचारविमर्श भएको जानकारी दिनुभयो । सोही दिन भारतका नवनियुक्त सङ्घीयमन्त्री डा एस जयशङ्करले आफूसँग शिष्टाचार भेट गर्नुभएको उल्लेख गर्दै उहाँले सो क्रममा दुई देशबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै अघि बढ्नेबारेमा कुराकानी भएको बताउनुभयो ।

भ्रमणका क्रममा भारतीय चेम्बर अफ कसर्म र उद्योग महासङ्घ (एफआइसिसीआई) का अध्यक्ष तथा प्रतिनिधिसँग नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

“नयाँ दिल्लीमा रहँदा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनाका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट एवं समसामयिक विषयमा विचारको आदानप्रदान भयो”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री र सांसदहरुको जवाल–जवाफ जारी छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १३:४१