८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

महाभारतकाे किसानलाई अनुदानमा कफीको बिरुवा वितरण, वार्षिक ५ देखि १० लाख

६ असार, काठमाडौँ । किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०÷८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।

कृषि शाखाको आयोजनामा कफी उत्पादन हुने वडामा सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा किसानलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिम डाँगीले जानकारी दिनुभयो । “महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नं १, २, ५, ६, ७ र ८ मा कफीको बिरुवा वितरण भइरहेको छ ” उहाँले भन्नुभयो, “कफी उत्पदान गर्ने किसानले सम्बन्धित वडामा सम्पर्क गरी बिरुवा लिन सक्नुहुनेछ ।” महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ ।

यहाँका किसानले एउटा घरबाट मात्रै कफी खेतीबाट वार्षिक पाँचदेखि दश लाखसम्मको बिक्री गर्दै आएको वडा नं ५ का सुवास जिम्बाले बताउनुभयो । खेती राम्रो हुने र बजारीकरणको समस्या नहुने भएकाले पछिल्लो समयमा किसान कफी खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ । महाभारतका किसानका लागि आम्दानीको स्रोत कफीखेती भएकाले विगतका वर्षदेखि नै बिरुवा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७९र८० मा मात्रै एक लाख कफीको बिरुवा वितरण गरेको उहाँले बताउनुभयो ।

महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । यहाँका किसानले कफी उत्पादनलाई जोड दिएपछि बागमती प्रदेश सरकारद्वारा एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१÷८२ का लागि प्रमदेशर पालिकाको साझेदारीमा कार्यान्वनय गर्ने गरी महाभारत गाउँपालिका–५ लाई कफी उत्पादनको लागि छनोट गरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत महाभारत –५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १३:१६