१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधि छनाैट


४ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज मंगलबार साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।

बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।

देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेको पार्टीले एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनोट गरिने छ ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पार्टीका सम्मानित नेताको पदमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले सहज रूपमा भुसालका लागि ठाउँ खाली नगरे आफैँ अध्यक्षमा लड्न तयार रहेको सन्देश यसअघि नै दिइसक्नुभएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार ११:१८