धादिङका गाउँमा सिंहदरबार: अपाङ्गलाई घरमै नागरिकता, भत्ता, अनुदान र अन्य सहयाेग
-रबिना पौडेल
थाक्रे, धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका –६ की सर्मिला थापाले २२ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा थाक्रे गाउँपालिकाद्वारा आयोजित नागरिकता वितरण कार्यक्रममा उनले आफ्नै घरमा नागरिकता प्राप्त गरेकी हुन् ।

थाक्रे गा.पा – ६ का वडा अध्यक्ष पुर्ण बहादुर कार्कीका अनुुुसार सर्मिला थापा जन्मिदादेखि नै पूर्ण रुपामा अपाङ्ग भएकी हुन् । उनी हिड्न, बोल्न सक्दिनन् । उनका हात खुट्टा चल्दैनन् । उनी सधै ओक्ष्यानमा नै दिसापिसाप गर्छिन् ।
सानै उमेरमा बुवा गुमाएकी थापा आमाबाट पनि टाढा हुनु परेको छ । बुवाको निधन पछि आमा काठमाडौमा अरुको घर सफागरेर पैसाको जोह गर्दै छिन् । थापालाई स्याहार गरेर घरमा बस्ने हजुरआमा भन्छिन् –“नातिनीले ढिलो भए पनि नागरिकता पाएको देख्न पाउँदा म साहैँ खुसी छु । ”
अपाङ्ग थापाको नागिकता बनाइदिनु पर्ने त हो । टाढाको सदरमुकाम धादिङबेसी लगेर नागरिकता बनाइदिन कठिन छ । यसैले सोमबार गाउँपालिकाको सहयोगमा घरमै उनलाई नागरिकता प्रदान गरेको थापाकी आमाको भनाइ छ ।

उनले मात्र हैन सोही दिन थाक्े गा.पा १०का भरत पौडेलले पनि २३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका हुन ।
थाक्रे गा.पा – १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेका अनुुुसार भरत पौडेल पनि जन्मिदा देखि नै पूर्ण रुपमा अपाङ्ग भएका हुन् । उनी हिड्न त सक्छन् तर घरबाट पर जान सक्दैनन् ।
उनी बोल्न त सक्छन् तर उनको बोलि र भाषा कसैले पनि बुझदैनन् । उनी आमाबुबाको कान्छो छोरा हुन् । उनकी २ दिदीहरु पनि जन्मिदा देखि नै पूर्ण रुपमा अपाङ्ग छन् ।
पौडेलको गरिब परिवार, त्यसमाथि पनि ३ जना अपाङ्ग छोराछोरीको स्यहार गर्न बुबाआमालाई सहज होओस् भनेर “विपन्न सँग अध्यक्ष” कार्यक्रम अन्तरगत गाउँपालिकाले २५ हजार रुपैया अनुदान दिने घोषण गरेको थाक्रे गा.पाका अध्यक्ष रामकुमार आर्चायले बताए ।

थाक्रे गाउँपालिकाको कारोबार बैँक माफत हुनु पर्ने भएकोले अपाङहरुलाई भत्ता,अनुदानहरु सहज रुपमा उपलब्द गराउन उनकै नागरिकताको खाँचो परेको हो । अब उनीहरुकै नाममा बैँक खाता खोलिने छ ।
अपाङ्ग नागरिकले पाउने भत्ता,अनुदानहरु समेत बैँकको कर्मचारीहरुले घरमा नै लगेर दिने व्यवस्था मिलाएको गाउँपालिकाकी उपाअध्यक्ष अम्बिका रुपाखेतीको भनाइ छ ।
थाक्रे गा.पाले दुबैको आवश्क कागज पत्र तयार गरी जिल्ला प्रशासन कार्यालयको सहयोगमा नागरिकता बनाएको हो । सोमबार थाक्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य लागाएत केही नागरिक समाजका पदाधिकारीहरुले दुबैको घरमा गएर उनीहरुलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।
यसबाट थाक्रे गाउँपालिकाले सिंहदरबारको सेवासुविधा सबैको घरघरमा पराइरहेको छन् भन्ने बुझिन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १५:४७












