६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

चितवन र पोखरामा आर्यन, अञ्जनासहित ‘पुजार सार्की’ टिम, तेस्रो हप्तासम्म दर्शकको चाप कायमै


२७ जेठ, भरतपुर। गत जेठ १० गते रिलिज भएको नेपाली चलचित्र ‘पुजार सार्की’ले रिलिजको तेस्रो हप्तासम्म पुग्दा समेत दर्शकको चाप हलमा देखिएपछि चलचित्र टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन्। शनिवार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल सहितको टिम चितवन पुगेको छ।

चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजि मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा ‘पुजार सार्की’ टिमले दर्शक भेटी साक्षात्कार गरेको छ। यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शक भेट्नेछ। पोखराका सबै हलहरूमा रिलिजको सुरुवात देखि नै यस चलचित्रले दर्शकको उच्च उपस्थिति सहितको व्यापार गरिरहेको छ।

आफ्नै क्षेत्रको कथा र पोखरा नजिक छायाङ्कन भएको कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतले बताए। हलमा पुग्दा चार पटक सम्म ‘पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुसी भएको अभिनेता सिग्देलले बताए। यस चलचित्रमा ‘मैयाँ’को भूमिकामा रहेकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैँ खुसी हुने बताइन्।

रिलिजको सत्रौँ दिनमा करिब ८० शो सहित चलिरहेको यो चलचित्रले शनिवार देशभरका अधिकांश हलहरूमा हाउस फुल व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताए। दिनेश राउतको निर्देशन, सुबास भुसालको निर्माण, विकास सुबेदीको लेखन रहेको यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार ०९:००