९ असार २०८१, आईतवार | Sun Jun 23 2024

कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’मा उपचार गर्दा ५० प्रतिशत छुट


२१ जेठ, काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनिहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् ।

कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ ।

“कतार भ्रमणको सिलसिलामा त्यहाँ रहनुभएका गैरआवासीय नेपाली तथा कतारमै काम गर्दै आएका नेपाली नागरिकसँगको छलफलमा नेपाली कामदारको अवस्था, यहाँ बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यको उपचारलाई सहज बनाउन सहमति गरिएको हो”, सांसद डा शर्माले भने ।

सम्झौतापत्रमा उल्लेखित सुविधा आगामी असार मसान्तसम्म कायम रहनेछ । कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवारलाई केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । यसका लागि परिचयपत्र र नाता प्रमाणित हुने कागजात आवश्यक पर्ने उक्त सम्झौतामा उल्लेख छ ।

उपचार सेवासम्बन्धी सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) तथा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका छन् । यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतापत्रमा समितिका सभापति मोहमद अजिज अलि र महामन्त्री केदार भुसालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार २०:२८