१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

संसदीय छानबिन समितिले जीवी र रविसँग पनि बयानमा लिन्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले  छानबिन समितिले गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी राई र त्यसमा आवद्ध हालका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने बताए ।

उनले भने, ‘सूर्यदर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ, त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानुनी हो । यो गैरकानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’

समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरू ढुक्क रहेको पनि जानकारी गराए ।

समितिले सदनलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको थापाले बताए । यसअघि महान्यायाधिवक्ता दिनमणि पोखरेलले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको प्रमाण नभेटिएको भन्दै सफाइ पत्र दिएका थिए । महामन्त्री थापाले कांग्रेस सांसदले विदेशीलाई सूचना बेचेको भन्ने आरोप सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १३:३२