९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

टी-२० विश्वकपः क्यानडामाथि अमेरिकाको सानदार जित

२० जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । आइबार बिहान डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाका आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन जोडे ।

४२ रनमा २ विकेट गुमाएको अमेरिकाको लागि जोन्स र एन्ड्रीस गौसले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए । गौस ६५ रन जोडे । मोनक पटेलले १६, स्टेभेन टलर शुन्य रनमा आउट भए । कोरे एण्डरसन ३ रनमा अविजित रहे । बलिङमा क्यानडाका सलिम साना, डिलोन हेलिगर र निखिल दत्तले एक एक विकेट लिए ।

यसअघि अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित धलिवालले ६१, निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५, श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिएका थिए । बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेकाे प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ ।प्रतियोगितामा २० टोली सहभागी छन् । आइतबार साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच अर्को खेल हुनेछ ।

समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १०:०४