१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

पार्टीको १०औँ महाधिवेदनले कार्यदिशासहित समाजवादी कार्यक्रम पारित गर्छः सम्मानित नेता खनाल


१९ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी १०औँ राष्ट्रिय महाधिवेशनले पार्टीको लक्ष्य, कार्यदिशा, नीति, सिद्धान्त र समाजवादी कार्यक्रम पारित गर्ने बताएका छन् ।

महाधिवेशन मूल कमिटीअन्तर्गत अतिथि सत्कार कमिटीको आज बसेको प्रथम बैठकमा उनले विचार, पद्धति, कार्यशैली र संस्कृतिका हिसाबले पनि पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । “नीति, सिद्धान्त र विचारका हिसाबले पार्टीलाई एकताबद्ध गराउनुपर्छ, नेकपा (एमाले)बाट वैचारिक, सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक विद्रोह गरेको पुष्टि हुनुपर्छ”, उनले भने, “पार्टीभित्र यस विषयमा समझदारी बढेको छ । सिङ्गो समाजवादी क्रान्तिको कार्यक्रमले अन्य वामपन्थी दललाई पनि नयाँ ढाँचा दिने छ । त्यसैले पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम दिएर कार्यकर्तालाई स्पष्ट गराउनुपर्छ ।”

पूर्वप्रधानमन्त्री खनालले वामपन्थी एकताका लागि कोशी र सुदूरपश्चिम सरकारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र आफ्नो दल सम्मिलित हुनुपर्नेमा जोड दिए ।

उनले पार्टी अधिवेशनमा करिब एक हजार तीन सय प्रतिनिधिको प्रतिनिधित्व रहने र आफूले गृहजिल्ला इलामका तर्फबाट अधिवेशनमा भाग लिनेसमेत जानकारी दिए ।

बैठकमा पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले महाधिवेशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अतिथिको सहभागिताबारे जानकारी दिएका थिए । यसैबीच महाधिवेशनमा प्रस्तुत हुने पार्टीका दस्तावेजबारे आइतबार अपराह्न पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार २३:२८