राजनीतिलाई आर्थिक विकाससँग जोडेर अगाडि बढेमात्र देशको विकास हुन्छः उपाध्यक्ष पाण्डे
१९ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिलाई आर्थिक विकाससँग जोडेर अगाडि बढेमात्र देशको विकास हुने बताएका छन् ।
एमाले पर्वत–काठमाडौँ सम्पर्कमञ्चको १२औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान जारी भएसँगै राजनीतिक मुद्दा सकिएकाले अब राजनीतिलाई आर्थिक विकाससँग जोडेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
“मुलुकको आर्थिक विकासका लागि नयाँ स्तरको खोज, अध्ययन, जानकारी र अभियान सञ्चालन गर्नुपर्छ”, उनले भने । उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि एमालेको ठूलो योगदान रहेको उल्लेख गरे ।
उपाध्यक्ष पाण्डेले वर्तमान समाज कुन दिशामा अगाडि बढ्दैछ भन्ने विषयमा अध्ययन गरेर पार्टीलाई सोही ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए । पार्टीभित्र युवालाई आकर्षण गर्ने खालको योजना ल्याउनुपर्ने उनको भनाइ थियो ।
एमाले नेता एवम् संविधानसभा सदस्य विकास लम्सालले पछिल्लो समय पार्टीभित्र साङ्गठनिक अराजकता हाबी हुँदै गएको बताए । गण्डकी प्रदेशका पूर्वपर्यटनमन्त्री समेत रहनुभएका लम्सालले पछिल्लो समय पर्वतको विकासमा एमालेले महत्वपूर्ण काम गरेको उल्लेख गरे ।
एमाले केन्द्रीय सदस्य कल्पना थापाले सम्पर्क मञ्चले एमालेलाई मात्र नभएर सबै विचारधाराका व्यक्तिलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सम्पर्कमञ्चलाई बलियो बनाउन सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।
एमालेका केन्द्रीय सदस्य कल्पना चापागाईंले काठमाडौँमा पेसा व्यवसाय गरेर पर्वतमा एमालेको सङ्गठन बलियो बनाउन सम्पर्क कमिटीले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
एमाले पर्वतका अध्यक्ष गोविन्द गिरिले देशभरमा रहेका पर्वतका बासिन्दालाई जिल्लासँग जोड्नका लागि मञ्चले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पर्वतबाहिर रहेका बौद्धिक वर्गको राय–सुझावलाई समेटेर पर्वत एमाले अगाडि बढ्ने उल्लेख गरे ।
प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार २३:२१