१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हायर पर्चेज कर्जा दिने कम्पनीलाई सम्पत्ती शुद्धिकरणको कानून, नियम उल्लंघन गरे ५ करोडसम्म जरिवाना


१८ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीहरुका लागि पनि ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागू गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनी र त्यस्तो कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई १० लाख देखि ५ करोडसम्म जरिवाना गर्ने उल्लेख गरेकाे छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी पहिलो पटक जारी गरेको निर्देशनमा उक्त कारबाहीको व्यवस्था गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी यस्तो निर्देशन जारी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

परिपत्रअनुसार एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा, एकै पटक वा पटक पटक गरी एक दिनमा कुनै एक ग्राहकले १० लाख वा सो भन्दा बढी रकम भुक्तानी गरेमा सम्पत्ति शुद्धीकरणको जानकारी गराउनुपर्नेछ।

कम्पनीहरुले यसका लागि अब आन्तरिक जिम्मेवारी तथा कार्यविभाजन गर्नुपर्नेछ। जोखिम मूल्यांकन प्रणालीको आधार तथा पद्धति, जोखिममा आधारित ग्राहक पहिचान, आवधिक तथा अनुगमन पद्धति, अस्वाभाविक तथा शंकास्पद कारोबारको पहिचान गर्नुपर्नेछ।

कुनै प्राकृतिक व्यक्तिको कारोबारमा परिवारबाहेक अन्य कुनै व्यक्ति वास्तविक धनीको रुपमा रहेको शंका लागेमा पहिचान गर्नुपर्नेछ। हायर पर्चेज कर्जा दिने कम्पनीले व्यक्तिको ल्याप्चे सहिछाप वा बायोमेट्रिक लिनुपर्नेछ।

उच्चपदस्थ व्यक्ति पहिचान हुने संयन्त्र विकास गर्नुपर्नेछ। ग्राहकसँग कारोबार गर्दा र ग्राहकको विवरण नियमित रुपमले अद्यावधिक गर्दा उच्चपदस्थ व्यक्ति पहिचान हुने संयन्त्र, परिवार तथा सम्बद्ध व्यक्ति पहिचान हुने संयन्त्र बनाउनुपर्छ।

उच्चपदस्थ व्यक्तिको पहिचान गर्दा ग्राहकबाट सूचना लिने वा स्वघोषणा गर्न लगाउने, सार्वजनिक रुपमा उपलब्ध सूचना ग्रहण गर्ने, सामाजिक सञ्जालमा उपलब्ध सूचनाहरुको विश्लेषण गर्ने, व्यावसायिक रुपमा उपलब्ध तथ्यांक लिई सूची तयार गर्नुपर्नेछ।

नियम उल्लंघन गरेको हायर पर्चेज कम्पनीलाई ५ करोडसम्म जरिवानाः

राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीको नीति तथा कार्यविधि नभएमा पहिलो पटकका लागि लिखितरुपमा सचेत गराउने, दोस्रो पटकदेखि १० लाख वा गाम्भीर्यताको आधारमा ५ करोडसम्म जरिवाना गर्ने जनाएको छ ।

यस्तै ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा वा प्रभावकारी नभएमा पहिलो पटकका लागि लिखितरुपमा सचेत गराउने, दोस्रो पटकका लागि १० लाख जरिवाना गर्ने, तेस्रो पटकदेखि ५० लाख वा गाम्भीर्यरता अनुसार थप जरिवाना गर्ने जनाएको छ । जानीबुझी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाइएमा ५० लाख वा गाम्भीर्यता अनुसार थप जरिवाना गर्ने जनाएको छ ।

ऐनको परिच्छेद ६ ख को व्यवस्था पालना भएको नपाइएमा पहिलो पटकका लागि २० लाख रुपैयाँ जरिवाना गर्ने, दोस्रो पटकका लागि ५० लाख जरिवाना गर्ने, तेस्रो पटकदेखि २ करोड वा गाम्भीर्यता अनुसार ५ करोडसम्म जरिवाना गर्ने जनाएको छ । पटक पटक प्रणालीगत समस्या भएमा कारोबार वा ब्यवसायमा आंशिक वा पूर्ण रोक लगाउने वा इजाजतपत्र निलम्वन वा खारेज गर्ने सम्मको कारबाही गर्ने जनाएको छ ।

उक्त कारबाही अर्पयाप्त भएको लागेमा हायर पर्चेज कर्जा दिने कम्पनीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम यस बैंकले थप कारबाही गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार १७:५८