१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

रिग तालको चर्चा चुलिएसँगै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड


१८ जेठ, काठमाडाैँ । जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो ।

बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ ।

पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उनको भनाइ छ ।

पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताए । गत आवमा रु आठ लाख खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उनले जानकारी दिए ।

“गोठथरीका रुपमा रहेको स्थानमा ताल छ, यो निकै पनि आकर्षक छ । मध्यपहाडी लोकमार्ग विस्तारपछि तालको प्रचारप्रसार हुन थालेको थियो”, अध्यक्ष मगरले भने, “पालिकाको सीमित स्रोतबाट सडक विस्तारलगायत पूर्वाधार विकासमा लागेका छौँ । यस क्षेत्रको पर्यटन प्रवर्द्धन भएमा नागरिकको आयस्तारमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

पूर्वाधार विकासमा गत वर्ष रु आठ लाख र चालु आवमा रु पाँच लाख लगानी भइसकेको उनले जानकारी दिए । “रिगमा पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ठूलो लगानी थप पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ”, उनले भने, “तालसँगै नजिकै रहेको तालबराहलाई संरक्षण गरेका छौँ । सडक, खानेपानी, शौचालय, सत्तललगायत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर विकास गर्ने योजना छ ।”

समुन्द्री सतहबाट करिब तीन हजार दुई सय मिटर उचाइमा रहेको तालको लम्बाइ एक सय, चौडाइ ६० र गहिराइ करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुन थालेपछि ताल पुरिने सम्भावना बढसँगै पालिकाले पर्खाल निर्माण गरेको छ ।

रोल्पा, रुकुम, प्यूठान, पर्वत र बागलुङको विभिन्न स्थानको अवलोकन गर्न सकिने र भेँडाका बथान हेर्न पर्यटक यहाँ आउने गरेको स्थानीय लालसिंह बुढामगरले बताए । “पहिला गाईभैँसी, घोडा र भेँडालाई पानी खुवाउन तालको प्रयोग गरिन्थ्यो । हिमपात भएको समयमा ताल निकै मनमोहक देखिन्छ”, उनले भने ।

सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको भन्दै यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नु जरुरी रहेको बुढामगरको भनाइ छ । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरेका भन्दै रोल्पा र रुकुमबाट केही कम आउने उनले बताए ।

“अहिले ताल हेर्न आउने पर्यटक बढेकाले पालिकाले संरक्षण गर्न थालेको छ”, उनले भने, “वरपरको हरियाली, भेँडाको बथान हेर्न तथा बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा आएका पर्यटकसमेत यहाँ आउन थालेका छन् । यहाँ ओत लाग्ने स्थान बनाउन आवश्यक छ ।”

पछिल्लो समय गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी र विकास गर्न थालको छ । पालिकाले संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो ।

“तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको’ भन्ने बुझाउछ”, गाउँपालिका अध्यक्ष मगरले भने ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार १३:०९