नुवाकोटको भविष्य मानिएको टोखा-छहरे सुरूङमा अर्थमन्त्रीको ‘कु’
१५ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार काठमाडौँ र नुवाकोट जोड्ने सुरूङ मार्ग टोखा-छहरे सुरूङ मार्ग बजेटबाटै हटाएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलो पटक बजेटमा समावेश गराएको योजनाले मुर्त रूप नपाए पनि हरेक बजेटमा सुरूङको चर्चा हुने गरेको थियो । तर यो पटकबाट उक्त योजनाको नाम नै गायब भएको छ । अर्थात यो वर्षको बजेटमा नुवाकोटको भविष्य मानिएको टोखा-छहरे सुरूङ अर्थमन्त्री वर्षमान पुनले ‘कु’ गरेका छन ।
नुवाकोटको त्यो पनि क्षेत्र नम्बर १ जहाँ सुरूङ निर्माण हुन्छ सोही क्षेत्रका प्रतिनिधिभा सदस्य हितबहादुर तामाङ सदस्य रहेको मन्त्रिपरिषद्ले पारित गरेर अर्थमन्त्रीले संसदमा पढेको बजेटमा नुवाकोटका अधिकांश ठूलो योजना निशानामा परेका छन ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने भन्दै एक अर्ब बजेट बिनियोजन गरेको थियो । चालु वर्षको बजेट विनियोजन गर्दा नुवाकोटमै जन्मिएका डा प्रकाशरण महत अर्थमन्त्री रहेका थिए । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा विनियोजन गरिएको उक्त बजेट अन्तिम समयमा रकामान्तर गरेर अन्तै पुर्याइएको थियो । उक्त बजेट रकमान्तर गरेर अन्तै लैजाने काम पनि अर्थमन्त्री पुनले नै गरेका हुन ।
०७६ माघमा आएको चिनियाँ प्राविधिक टोलीले टोखा छहरे सुरूङको प्रारम्भिक अध्ययन गरेको थियो । २० जनाको चिनियाँ टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो ।
प्राविधिक टोलीले सुरूङको लम्बाइ चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनबाट बताएको थियो । सुरुङको सम्भाव्यता अध्ययर निर्माणको काम दुबै चीन सरकारले गरिदिने भने पनि सरकार भने सो सरूङ मार्गप्रति पूर्वाग्रही देखिएको छ । सुरूङ बन्दा केरूङ नाकाबाट काठमाडौँ जोड्ने मार्ग थप छोटो हुनेथियो ।
सरकारले सुरूङको नाम नै काटिदिएपछि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव पाण्डेले दैनिकीसँग कुरा गर्दै सरकारले नुवाकोटप्रति पूर्वाग्रह देखाएको बताए । उनले जिल्लाकै अझ सोही क्षेत्रका मन्त्री मन्त्रिपरिषद्मा हुँदा जिल्लाको भविष्यसँग जोडिएको योजना काटिनु बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:१५