१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

भ्रष्टाचारको अर्को नाम विकल पौडेल: अर्को मुद्दामा पनि दोषी ठहर


१५ जेठ, काठमाडौँ । भ्रष्टाचारको पर्याय भनेर चिनियका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन । सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको मुद्दामा पनि दोषी ठहर गरेका हुन ।

उनी दोस्रो पटक भ्रष्टाचारी ठहर हुँदा एक वर्ष कैद र १० हजार जरिवाना भराउने फैसला विशेष अदालतले गरेको छ । पौडेलले विदेशी पिआर लिएको अवस्थामा ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको अदालतको ठहर छ ।

विशेष अदालतले प्राप्त प्रमाणबाट पिआर लिएको अवस्थामा ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हालेको ठहर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वैशाख ९ गते पौडेलका विरूद्धमा झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दर्ता गरेको थियो ।

सोही मुद्दामा विशेषले सोमबार पौडेललाई दोषी ठहर गरेको हो । विशेष अदातलका अध्यक्ष र सदस्ययले १३ जेठ ०७९ मा पदावधि थप गर्न निवेदन दिँदासमेत पिआर लिएको विषय पौडेलले लुकाएको ठहर गरेका छन । जुन कुराको प्रमाण अनुसन्धान गरेर अख्तियारले अदालतमा पनि पेश गरेको थियो ।

यसअघि ८ जेठमा पौडेलसहित चारजनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा नौ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित फैसला सुनाएको थियो । पौडेलका कारण नेपाल सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको ठहरसहित दुई वर्ष कैद सजाय सुनाएको थियो । पौडेलका अन्य दुइ मुद्दा अझै विशेष अदालतमा विचाराधिन रहेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार ११:१९