३ असार २०८१, सोमबार | Mon Jun 17 2024

‘अविरल जनसाहित्य यात्रा–९०’मा प्रगतिवादी कवि रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कविता गुञ्जिए


१४ जेठ, काठमाडाैँ । जेठ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र लेखाव्यवसायीसमेत रहेका अहिलेको समयका अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, नर्मदेश्वरी सत्याल, कणाद महर्षि, अनिल पौडेल, डम्बर पहाडी, त्रिलोचन आचार्य, अच्युत पौडेल, जयराम बिडारी, खेमनाथ निरौला, कविनायककी जीवनसङ्गिनी सुनिता खड्का पण्डितलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने रूपक अलङ्कारले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०३२ साउन १ गते माता नारायणी पण्डित क्षेत्री र पिता विनोदकृष्ण पण्डित क्षेत्रीका सुपुत्रका रूपमा बौद्ध, सिमलटार, काठमाडौँमा जन्मिएका रामकुमार पण्डित क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र जनप्रशासनमा एमपिए उत्तीर्ण गर्नुका साथै विक्रमशिला हिन्दी विद्यापीठ बिहार भारतबाट विद्यावाचस्पति सारस्वत सम्मान (विद्यावारिधि) उपाधि हासिल गर्नुभएको छ ।

‘देशको खोजी’ लघुकथासङ्ग्रह २०७१, ‘बुद्धविचार’ बालकवितासङ्ग्रह २०७३, ‘मन्दिर र आओ’ कवितासङ्ग्रह २०७४, ‘आधुनिक माधवी’ कथासङ्ग्रह २०७७, ‘वर्ष साहित्य पुस्तक’ समीक्षासङ्ग्रह २०७८ र ‘देशको चित्र’ लघुकथासङ्ग्रह २०७९ जस्ता साहित्यिक कृति नेपाली साहित्यमा भण्डारण गरिसक्नुभएको छ ।

आधा दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका तथा स्मारिकाको सम्पादनसमेत गर्नुभएका पण्डितले झण्डै एक दर्जन मान, सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । आधा दर्जन साहित्यिक सङ्घसंस्थामा सक्रियता देखाइरहनुभएका पण्डितका नेपाली साहित्यका विभिन्न विधाका करिब आधा दर्जन कृति प्रकाशोन्मुख अवस्थामा रहेकाले कवि पण्डित अहिलेको समयका निकै सक्रिय स्रष्टा रहेको धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९० औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानमा सक्रियता देखाइरहेका रामकुमार पण्डित क्षेत्रीलाई प्रस्तुत गरिएको हो ।

यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक रामकुमार पण्डित क्षेत्रीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर उपत्यकामा लामो समयदेखि क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । मेरा कविताका विषयवस्तु यही समाजबाट टिपिएका छन् ।

यो मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि, सामाजिक विभेद र शोेषण देखेपछि, समाज परिवर्तनमा सघाउनै नसक्ने भए सत्ताप्राप्तिको अपेक्षा केका लागि ? गरिबको पीडामा मलम लगाउननसक्ने भए सरकार केका लागि ? भन्नेजस्ता अहम् प्रश्न तेर्सिएपछि, श्रमको सम्मान गर्नुपर्ने भावना समाजमा फैलाउनुपर्छ, हेपाइका विरुद्धमा उभिनुपर्छ भन्ने शाश्वतताले निर्देश गरेपछि मलाई कवितासिर्जनाको हुटहुटी बढेको हो । त्यसैगरी मुलुकको सबल नेतृत्वको अपेक्षा देशले गरिरहेको, सामाजिक उत्पीडनको अन्त्यका लागि स्रष्टाले कलम चलाउनै पर्छ भन्ने लागेको र गरिबीमा बाँचेका निमुखाको नियतिलाई नजिकबाट देखेपछि कविता सिर्जना गर्न बाध्य भएको हुँ ।

विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन भन्ने लागेपछि पनि मैले कविता सिर्जना गरेको हुँ भन्ने रचनागर्भसहित ‘छेपारो र भ्यागुता’, ‘लामखुट्टेका सपनाहरू’ ‘एक्वारियम’ ‘अर्काे राष्ट्रिय विभूति’, ‘आबाजहीन मान्छेहरू’, ‘पशुवृत्ति मन’, ‘सागरमन्थन’, र ‘घाम’ शीर्षकका आठओटा सुन्दर, शालीन, सरल र सशक्त गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू नन्दु उप्रेतीले ‘आफूलाई चिन्दा’ शीर्षकको गद्यकविता, बिन्दु अधिकारी ढकालले ‘विवशता’ शीर्षकको, जयन्ता पोखरेलले ‘बैँशालु साउन’ शीर्षकको र डम्बर पहाडीले ‘कागेश्वरी’ शीर्षकको गद्यकविता गरी चारओटा त्यस्तै शालीन तर सशक्त कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.विदुर चालिसेले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९० औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज कुशल स्रष्टा रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । सुपरिचित कविका कविताको टिप्पणी गर्न उभिए पनि कविले देखेको विश्वजगत् कवितामा अभिव्यक्त भएको हुन्छ भने समीक्षकले कविता पढेर बनाउने दृष्टिकोण अभिव्यक्त गर्दछ । नेपाली साहित्यमा गद्यकविताको उठान विद्रोहबाट भएको पाइन्छ ।

उदाहरणका लागि गोपालप्रसाद रिमाल, भूपि शेरचन आदि । यो अभियानमा व्याख्यात्मक मोड भने मोहन कोइरालाले ल्याएका हुन् । कविताको कथनपद्धतिमा विभिन्न मोडहरू देखिएका छन् । चीन, जापान र कोरियाबाट गद्यलाई सङ्क्षेपीकरण गरिएको रूपमा हाइकुपरम्परा आएको देखिन्छ । त्यसैगरी कविताको स्फुरण ध्यानको अवस्थामा पनि हुनसक्छ । तीन हरफे र सत्र अक्षरे हाइकुपरम्पराको थालनी भने सन १६४६ मा जापानबाट भएको हो । नेपालीमा भने निरङ्कुशताका विरुद्धका आबाजका रूपमा गद्यकविता लेखिएका हुन् । तर हालका दिनमा भने गद्यकवितामा सामाजिक यथार्थ, विभेद, शोषण उजागर गर्ने आक्रोश, कुण्ठा, महत्वाकाङ्क्षाको अभिव्यक्तिका माध्यमका रूपमा देखिएका छन् ।

शनिबार वाचित रामकुमार पण्डितका कविता पनि यस्तै दृष्टिले प्रेरित रहेका देखिन्छन् । आज वाचित कवितामा शोषणको विरोध गरिएको छ, सहिदप्रतिको सम्मान घटेको घुसपैठिया प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको छ, नेतृत्व नसुध्रिएको परिवेशको चित्रण गरिएको छ, जनआबाज नसुनिएको प्रति पीडाबोध गरिएको छ, समाज एक्वेरियमजस्तै साँघुरो बनेको र सत्ताले गरेको शक्तिको दुरुपयोग छाडा साँढेजस्तै भएको अवस्थाका प्रति आक्रोश व्यक्त गरिएको छ । सामाजिक यथार्थको उद्घाटन गर्दै छेपारो र भ्यागुताको चित्रण गरिएको छ । अन्याय जताततै मौलाएको, यथार्थमा भन्दा अफबाहमा विश्वास गर्ने प्रवृत्ति बढेको पक्षमा चिन्ताभाव व्यक्त गर्दै उज्यालो घामको अपेक्षा गरिएको छ । स्वेच्छाचारिता, नातावाद बढेको प्रति चिन्ता गर्दै आपूmलाई पनि चिन्नुपर्ने आह्वान गरिएको छ । आफ्ना कमीकमजोरीमा पश्चातापबोध गर्नुपर्ने आग्रह र सांस्कृतिक पर्यटन प्रवर्धनमा जोडदिनुपर्ने कुरा कवितामा उठान गरिएको छ । शैलीको दृष्टिले आज वाचित कविता मध्यमस्तरका रहेका छन् । कवितामा प्राक्सन्दर्भ ल्याउने र प्रस्तुत गर्नखोजेको विषयसँग जोड्ने, शब्दको मिथकीय अर्थ खुट्याउने, सकेसम्म प्रत्यक्ष कथनको प्रयोग गर्ने, हाम्रो लेखनमा अङ्ग्रेजी भाषाव्याकरणको प्रभाव बढी परेकोमा हेक्का राख्ने, विषयवस्तुमाथि निरीक्षण अनि दृष्टिकोणलाई ध्यानमा राखी शैलीगत स्वपहिचान खोजेर सिर्जना गरिएको खण्डमा हाम्रा सिर्जना स्तरीय हुने कुरासमेत औँलयाउनुभएको थियो ।

प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो नब्बेऔँ शृङ्खलामा आज सक्रिय एवम् प्रगतिवादी कवि रामकुमार पण्डित क्षेत्रीलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । राजनीतिले मूर्त रूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक छ । राजनीतिक परिवर्तनपछि जनअपेक्षा पूरा नभएका, निराशाका कुरा पनि आउनथालेका छन् ! लामो यात्रामा कहीँ कतै केही अवरोध आए पनि यात्रा चाहिँ गरिरहनै पर्छ, समस्यासँग जुधिरहनुपर्छ ।

प्राप्त उपलब्धिको समीक्षा गरिनु पनि आवश्यक छ । इतिहासका राम्रा कामको मूल्याङ्कन र समीक्षा पनि आवश्यक छ । अहिले पनि एकल सरकार नहुनुको पीडा देश र जनताले भोगिरहनुपरेकै छ । तथापि देखिएका विकृतिप्रति भने स्रष्टाले खबरदारी गर्नुपर्छ, सुधारका पक्षमा घच्घच्याउनुपर्दछ । अब समाज कसरी अगाडि बढ्छ भन्ने चिन्तनसहितका सिर्जना गरिनु पनि आवश्यक छ । आजका कविताले धेरै हदसम्म त्यो काम गरेका छन् त्यसैले आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा रामकुमार पण्डित क्षेत्रीलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने पण्डितको पारिवारिक माहोल पनि सहयोगी रहेको देखियो । वर्गीय प्रेम, पेसागत प्रेम, छिमेकीको हेपाहा प्रवृत्ति र समतामूलक समाज निर्माणको अपेक्षा उनका कवितामा सशक्तढङ्गले अभिव्यक्त भएको देखिन्छ ।

समसामयिक विद्रुप यथार्थको उद्घाटन गर्दै विभेद, उत्पीडन र शोषणको अन्त्यको आग्रह गर्नु पनि कविका विशेषता रहेका छन् । सङ्गठनको काम र वैचारिक स्पष्ट दृष्टिकोणले पनि स्रष्टालाई सिर्जनामा सघाएको पाइन्छ । समयको व्यवस्थापन गर्ने व्यक्तित्व पनि भएकाले उनका सबै कवितामा समसामयिक समाजका विसङ्गत पक्षको उजागर गर्दै समग्र रूपान्तरणका पक्षमा आबाज उठाइएको पाइन्छ । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने, गरिब–दुःखीले बाँचेको जीवनका पक्षमा उभिएर सिर्जना गर्ने, पितृसत्ताको विरोध गर्ने, श्रमको सम्मानका पक्षमा वकालत गर्ने कविको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । आजका कवितामा ग्राम्य विम्बको प्रयोग भएको पाइन्छ । कवितासिर्जनामा परिष्कार परिमार्जनको त सदैव आवश्यकता रहन्छ नै ।

यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी असार महिनामा ९१ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा नन्दु उप्रेतीलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १८:४२