१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

युवा शक्ति बाहिर भएकाले कृषि व्यवसायीमा समस्या

११ जेठ, काठमाडाैँ । जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन समारोहका वक्ताले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्नमा आत्मनिर्भर हुन सबै किसान लाग्नुपर्ने तथा राज्यबाट उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादु खत्रीले भने, “कृषि पेसालाई नबुझेका मानिसले उपेक्षा गर्छन्, बुझेकाहरूका लागि यो उत्तम एवं सम्मानित पेसा हो । युवा शक्ति बाहिर भएकाले श्रम गर्ने व्यक्तिको समस्या छ । तर प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने दिशामा सबै अगाडि बढ्नुपर्छ ।”

जिल्लाका कृषि उत्पादन अधिक हुने क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले काम गरिरहेको निमित्त डिभिजन प्रमुख इन्जिनियर भेषराज भुसालले बताए । उनले कृषि उत्पादनमा लागेको जल उपभोक्ता समितिलाई सक्षम बनाउन तालिमको व्यवस्था गरिएको बताए ।

युवा वर्ग विदेशिने क्रम नरोकिएकाले व्यावसायिक कृषि गर्न र स्वरोजगार बन्न सबैले सहयोग गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेल्वासेले बताए । तालिममा जिल्लाका १७ जल उपभोक्ता समितिका ३४ किसानको सहभागी थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ०९:३२