मानवतस्करीको अारोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्कीलार्इ बर्खास्त गर्न माग
१६ मंसिर, काठमाडाैँ । मानवतस्करीको अारोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालार्इ बर्खास्त गर्न दबाब बढेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेताहरूले नै मनवतस्करीको अारोप लागेकी शेर्पालार्इ बर्खास्त गर्न दबाब बढाएका हुन । नेकपाका केही नेताहरूले लक्कीबारेमा सामाजिक सञ्जालमै टिप्पणी गरेका छन । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले लक्कीलार्इ तत्काल बर्खास्त गरेर कारवाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन् । उनले लक्कीलार्इ कारबाही गर्न माग गर्दै विगतका केही उदाहरण पनि पेश गरेका छन ।
रिजालले फेसबुकमा लेखेका छन ‘अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएका छन् । कुटनीतिक क्षेत्रसँग पूर्णतः असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको छ । उनलाई तुरुन्त बर्खास्त गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्छ । विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारी लगायत बर्खास्त भएको इतिहास सरकारले सम्झोस् ।’

नेकपाकै नेता युवराज चौलागाईले समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै राजदूतका कामले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको शीर झुकेको बताएका छन् । उनले नेकपा र नेपाल सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई छानबिन गरी पदको दुरुपयोग गर्नेमाथि कडा कारवाही गर्नुपर्ने बताएका छन ।
नेपाली राजदूतावास क्यानबारामा चालकको काम गरेका ओङ्छु शेर्पाले राजदूत लक्की र उनका पतिले विदेश पठाइदिने भन्दै रकम असुल्ने गरेको गम्भीर आरोप लगाएका छन् । राजदूत दम्पतीबाट आफू पीडित भएको शेर्पाले बताएका छन् । मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको बताएका छन् । ओङ्छुले उक्त घरको कम्पाउण्ड समेत निशुल्क बनाइदिएका छन् ।
प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार ०९:१७












