१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

सहकारी प्रकरणः संसदीय छानबिन समितिको कार्यदलको बैठक बस्दै

८ जेठ, काठमाडाैं । सहकारीको ठगी प्रकरणकाे छानबीनका लागि गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ । आज बिहान ९ बजे सिंहदरबारमा बैठक बस्न लागेकाे हाे ।

गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सहमति हुन सकेको छैन । नेपाली कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा उनको नामै उल्लेख गरेर छानबिन गर्नुपर्ने अडानमा छ । यता एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ०८:५०