१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

संसद्को अवहेलनामा गृहमन्त्रीमाथी कारबाहीको माग गर्दै धनराजले सभामुखलाई दिए निवेदन

७ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।

कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले सदनमा गृहमन्त्री लामिछानेले सत्य नबोलेको भन्दै संसद्को अवहेलनामा कारबाही गर्न माग गरेका हुन्।

गुरुङले निवेदनपत्रमा प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरेर सांसदहरूमाथि नै मानमर्दन गर्न खोजेको र नागरिकलाई भ्रममा पार्न खोजेको उल्लेख गरेका छन्।

उनले सभामुखलाई पठाएको पत्रमा भनिएकाे छ, ‘अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकमा भ्रम सृजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।’

उनले देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको बताएका छन्। ‘बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु,’ उनले पत्रमा भनेका छन्, ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाहीकाे माग गर्दछु।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १८:१०