१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कांग्रेसप्रति प्रधानमन्त्रीको आक्रोशः तपाईंहरुको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले ।

प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गरे ।

“विपक्षीलाई समेत सहमतिमा लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो बहुत गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ । इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ”, प्रधानमन्त्री दाहालले भने ।

उनले आफूलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्ने नेकपा (एमाले)सहित अन्य दल र सांसदलाई धन्यवाद दिए । प्रमुख प्रतिपक्षीको अवरोधका बीच विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १३:०१