१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

‘गुणस्तरीय सूचनाको पहुँच पहिलो प्राथमिकता’


२ चैत, काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकलाई गुणस्तरीय सूचनाको पहुँच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

राज्यमन्त्रीमा आजै नियुक्त उहाँले मन्त्रालयमा पदस्थापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकलाई सूचनाको हक प्राप्त भइसकेको र अब गुणस्तरीय सूचनामा सबैको सुलभ पहुँच पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मानवीय सेवाको दृष्टिकोणले पनि कतिपय क्षेत्रमा सञ्चार क्षेत्रले सेवा पु¥याउनुपर्ने बताउँदै राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत्को सहयोगमा शिक्षा क्षेत्रमा ठूलो सुधार गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षामा चक र डस्टरको युग त गइसक्यो, त्यसैले अब फरक ढंगले पठनपाठन गराउन सके विशेषज्ञ सेवा केन्द्रबाटै देशभर दिन सकिन्छ ।”

“स्वतन्त्रताका कुरा धेरै भएका छन्, केही नियमनका कुरा पनि जरुरी छन्, कसैको नाम मिल्दो भयो र दुर्भाग्यपूर्ण घटना भयो भने पनि त्यो नामसित जोडेर घटनालाई प्रचारित गर्ने र सस्तो लोकप्रियता खोज्ने प्रवृत्ति पनि शुरु भएको छ, यसमा मिडिया आफँै सच्चिनु जरुरी छ”, पत्रकारसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो ।

निजी क्षेत्रमा फस्टाइरहेको सञ्चार क्षेत्र र सरकारले गर्नुपर्ने विषयमा हातेमालो जरुरी रहेको सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो ।

मिडियामा लगानीकर्ताका र कामदारका पनि आआफ्नै समस्या रहेको बताउँदै उहाँले सरकारी सञ्चार क्षेत्रको पनि आफ्नै महत्व रहेको र यसमा केही सुधारको आवश्यकता छ भन्नुभयो ।

प्रविधि राज्यमन्त्री बाँस्कोटाले पत्रकारिता, सूचना, ज्ञान, विज्ञापन नीति, प्रविधि र त्यसबाट प्राप्त गर्ने शिक्षा तथा आयआर्जनलगायत विषयमा विज्ञ र सरोकार भएकाहरुसँग छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताका अपेक्षा पूरा गर्न सञ्चारजगत् पनि सहयोगी बन्नुपर्छ । सञ्चार क्षेत्रले नकारात्मक कुराका विरुद्ध आँैला ठडाओस् र सकारात्मक कुरालाई पनि ताली बजाउन सिकोस् ।”

सञ्चार क्षेत्रका सबै विषयमा छलफल गरेर नयाँ बजेट नीति आउँदासम्ममा केही योजना बनाई अघि बढ्ने र यसमा सबैको सहयोग पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । काभ्रेपलाञ्चोक–२बाट प्रतिनिधिसभा सदस्यमा विजयी बाँस्कोटाले ‘दृष्टि’, ‘सम्बोधन’साप्ताहिक पत्रिका लगायतमा काम गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार २३:३०