१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने : कानूनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ

७ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानूनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानूनको शासन स्थापित हुँदै गएको बताएका हुन् ।

‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता(कता नेता तन्त्रजस्तो देखिँदै गएको थियोु, प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व कानूनभन्दा माथि भएको डरलाग्दो वैचारिक बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भीक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘शुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु’ प्रधानमन्त्रीले भने ।

नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए ।

‘सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसद्को पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।’

सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद् र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए ।

‘आगामी दशक तीव्र विकासको दशक भनेका छौं । त्यसका लागि वृहत् छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छु, प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत र बङ्गलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ ।’

उनले समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसद्को एकीकृत प्रयास आवश्यक रहेको बताए ।

‘म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छुु, प्रधानमन्त्री प्रचण्डले भने ‘लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्ने प्रयासविरुद्ध संसदको हस्तक्षेप माग्दछु ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १२:४३