६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिनुभएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गर्नुभएको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका शाही विसं २०६२ देखि कानुनी पेसामा आबद्ध हुनुहुन्छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १९:३९