१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

४ जेठ, बिरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।

नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई आज वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए । “जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ । त्यसकारण संसद् चलाउनै पर्छ”, उनले भने, “देशै ठप्प पार्ने काम स्वीकार्य हुँदैन ।

कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।” अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए । “कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि”, अध्यक्ष ओलीले भने ।

त्यसैगरी उनले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताए । अध्यक्ष ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेस हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गरे। “कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ”, उनले भने, “त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।”

एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथग्रहण गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १९:३०