१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान


३ जेठ, काठमाडाैँ । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् ।

जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् ।

दुई÷चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो । त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताए ।

पश्चिम म्याग्दीका प्रायःसबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए । विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरु बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिए ।

“केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्”, विकले भने । विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले बिक्री हुने उनले बताए ।

त्यसैगरी फापरको पनि बजारमा माग बढेको छ । विशेषगरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन् । पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला–५ की गोमा रोकाले बताए । “हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो”, रोकाले भने, “आफैँले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।”

दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उनले बताए । “घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ”, उनले भने, “बजारमा पनि फापरको उच्च माग रहेको छ ।” गाउँमा उत्पादन भएको फापर एक पाथीको रु दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको उनले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १५:२३