१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

संकटकालको झल्को दिनेगरी सेनाद्धारा नुवाकोटमा पत्रकारमाथि अाक्रमण, घटनाको सर्वत्र निन्दा

१४ मंसिर, काठमाडाैँ । नेपाली सेनाले नुवाकोटमा संकटकाल बिर्साउने गरी पत्रकार माथि अाक्रमण गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदिश खनाललार्इ सेनाले अाक्रमण गरेको हो । मंसिर १३ गते दिउँसो नेपाली सेनाको सबैभन्दा ठूलो तालिम केन्द्र मैथली तालिम केन्द्रमा कार्यरतहरूले पत्रकारद्धय माथि अाक्रमण गरेका हुन ।

पत्रकारद्धयले खिचिेको भिडियो र फोटोहरू समेत उनीहरूले क्यामरा र मोबाइल जफत गरेर मेटेको पीडित पत्रकार जगदिश खनालले दैनिकीलार्इ जानकारी दिए । उनले दैनिकीसँग भने ‘संकटकालमा समेत सेनाको यस्तो निन्दनी अाक्रमण कमै सहनु परेको थियो तर अहिले मैथली तालिम केन्द्रका सेनाहरूले सार्वजनिक सडकमा यस्तो व्यवहार देखाएर अाक्रणम गरे ।’

पत्रकारलार्इ सेनाले अाक्रणम गरेको विषयमा चाैतर्फी बिरोध र अालोचना भएको छ । घटनाको पत्रकारसँग सम्बन्धित संस्थाहरूले चर्को निन्दा  गरेका छन । नेपाल पत्रकार महासंघ नुवाकोटले विज्ञप्ति मार्फत सेनाको कदमप्रति खेद पक्रट गरेको छ ।

पत्रकार महासंघको विज्ञप्ति 

हिजो मिति २०७५ साल मंसिर १३ गते दिउँसो सवा १२ बजेको समयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालिम केन्द्र मैथली तालिम केन्द्रका सेनाहरुले तालिम केन्द्र अगाडीको सडकमा लछारपछार गर्नुका साथै मोवाइल क्यामेरा जफत गरेर भिजुअल मेटेको घटनाप्रति यस नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको गम्भिर ध्यानाकर्षण भएको छ ।

बिदुरबाट बट्टार तर्फ जाँदै गरेका यस शाखाका सचिव जगदीश खनाललाई सेनाको तालिम केन्द्रको गेटमा बसेका सेनाहरुले भनेकै ठाउँमा मोटरसाईकल नरोकेको भन्दै अपशब्द प्रयोग गरी गाली गरेको र ‘ठिक पार्छु’ भन्दै गेटको ड्युटीमा रहेका जबानहरुले मोटरसाईकल र सचिवलाई सडक किनारामा राखी बल प्रयोग गर्नु आफैमा नागरिकहरुको स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने अधिकारको हनन हो । यस घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका जिल्ला अध्यक्ष कपिलदेव खनालले सचिवलाई बर्दीमा रहेका सेनाले सडकमै छातीमा समातेर लछारपछार गरिरहेको देखेपछि आवश्यक प्रमाणका लागि फोटो खिच्न थालेपछि ब्यारेकभित्र फोटो लिएको भन्दै मोवाइल क्यामेरा जफात गरी सेनाहरुले केही बेर नियन्त्रणमा लिए । गल्छी रसुवागढी केरुङ्ग अन्तराष्ट्रिय सडकमार्गको रुपमा विकास भएको पासाङ्ल्हामु राजमार्गको सडक खण्डमा सेनाले देखाएको अभद्र ब्यवहारको समाचार संकलन भइरहेको मोवाइल कब्जा गरेर भिजुअल डिलिट गर्ने र बल प्रयोग गरी सार्वजनिक स्थलमा जिल्ला अध्यक्ष र सचिवलाई लछारपछार गर्ने घटना प्रेस स्वतन्त्रता विरोधी र सेनाको तानशाहको धङ्धङ्गी रहेको यस शाखाको ठहर छ ।

बर्दीमै रहेका सेनाले सडकमा पत्रकार माथी बल प्रयोग गर्ने र दुब्र्यबहार गरिरहेको भिजुअल खिच्नुलाई सुरक्षा निकायको संवेदनशिल क्षेत्रमा प्रवेश गरी फोटो खिचेको भन्दै अतिरञ्जित गरिनु खेदपूर्ण छ । यस घटनाको बारेमा स्थानीय सुरक्षा समितिको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई जानकारी गराउन कार्यालयमा जाँदा भेट नभएको र टेलिफोनबाट जानकारी गराउदा सेनाको फोटो खिच्नु गल्ति भएको उदेकपूर्ण र घटनालाई ढाकछोप गर्ने मनसाय पनि निन्दनिय छ ।

तालिम केन्द्रका सेनाहरुलाई सडक पार गराउदा सडक बन्द गर्दा सवारी साधनका चालकहरुलाई सेनाबाट हुने गरेको दुब्र्यबहारको बारेमा सामान्य घटनाहरु यसअघि पनि सार्वजनिक हुँदै आएको छ । सेनाले सडक बाटो छेक्न राजमार्गमा राखेको ड्रमका कारण सवारी साधन दुर्घटना भएका घटनाहरु पनि छन् । तर यसरी उनीहरुले भनेकै ठाउँमा मोटरसाइकलको ब्रेक लागेन गरेर बल प्रयोग गर्ने, लछारपछार गर्ने, र समाचार संकलन भइरहेको मोवाइल क्यामेरा नियन्त्रणमा लिएर समाचार सामाग्री डिलिट गर्ने कार्य निन्दनिय छ ।

सेनामा शाही शासनकालको धङ्धङ्की अझै बाँकी रहेको यस शाखाले आभाष गरेको छ । सेनाले सडक पार गर्ने नाममा नागरिकहरुलाई दिइरहेको सास्ती कम गर्न अन्य बैकल्पिक माध्याम (सडकमुनी सुरुङ्ग मार्ग वा आकाशे पुल) को बारेमा पनि सोच्न शाखा आग्रह गर्दछ । साथै हिजोको घटनामा सेनाले माफी माग्दै भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता सार्वजनिक गर्न र घटनामा सम्लग्नलाई कारबाही गर्न जोडदार माग गर्दछौं ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १९:२३