६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

नेपाल इन्स्योरेन्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ८२ पैसा

३० वैशाख, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले ४९ करोड १३ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिकाे तुलनामा १.४८ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ४९ करोड ८७ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सकाे कुल आम्दानी ६४.९९ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेकाे छ । १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ३३ करोड रुपैयाँ, महाविपत्ती जगेडामा ९ करोड ४८ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २२ रुपैयाँ ५७ पैसा बढेर ४९ रुपैयाँ ८२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.७४ गुणा रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १०:२६