विश्वविख्यात स्वादिष्ट चीनको स्छुवानी परिकार नेपालमा
१३ मंसिर, काठमाडाैँ । चीनको विश्वप्रसिद्ध स्छुवानी परिकारको एक दिवसीय प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ । चिनियाँ परिकारलाई नेपालमा परिचित गराउने उद्देश्यले नेपालमा दोस्रो पटक आयोजना गरिएको मेलाका लागि स्छुवानबाट आएका पाँच जना भान्सेहरुले तीन दिन लगाएर करिब ५० थरिका परिकार बनाएका थिए ।

बुधबार आयोजित कार्यक्रममा पाँचै जनाको चिनियाँ कलाकार टोलीले स्छुवान अपेरा, एक्रोवेटिक्स, कठपुतली, मुकुण्डो परिवर्तनलगायतका चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । स्छुवान प्रान्तको जनकाङ्ग्रेसलगायतका सरकारी निकाय तथा काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा संयुक्तरुपमा आयोजित मेलामा सभामुख कृष्णबहादुर महराले चीनले नेपालको हरेक क्षेत्रमा पुर्याएको सहयोगको लागि आभार ब्यक्त गर्दै दुबै देशबीचका जनतालाई सांस्कृतिकरुपले नजिक ल्याउन चिनियाँ खाना महोत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लागि स्छुवान प्रान्तीय जनकाङ्ग्रेसका उपसभामुख लिउ जेले २ हजार वर्षअगाडिदेखि रेशममार्गहुँदै स्छुवानको चिया, रेशम र नून नेपाललगायत दक्षिणा एशियामा ढुवानी हुने गरेको चर्चा गर्दै नेपालचीन मित्रता र आदानप्रदानको विकासक्रमसँगै आर्थिक, ब्यापारिक, पर्यटन, संस्कृतिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको सहकार्य प्रवद्र्धन हुँदै गएको बताउनुभयो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले चीनमा शुभकार्यको थालनी मिष्ठान्न भोजनबाट हुने उल्लेख गर्दै चिनियाँ सभ्यताको परिचायक मानिएको स्छुवानको परिकारको माध्यमबाट नेपाली मित्रहरुलाई चिनियाँ संस्कृति बुझ्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ सरकारी अधिकारी, मैत्री संस्थाका प्रतिनिधि तथा व्यवसायिक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गत वर्ष मार्चमा स्छुवान प्रान्तीय जनसरकारले नेपालमा पहिलो पटक स्छुवान परिकारको प्रदर्शनीको आयोजना गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:०७












