६ मंसिर २०८१, बिहीबार | Fri Nov 22 2024

बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

१९ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारी समेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ ।

पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १३:४०