७ फाल्गुन २०८२, बिहीबार | Fri Feb 20 2026

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन

१८ वैशाख, अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

आयकरबाट रु एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट रु ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख, ब्याजबापत रु तीन करोड ७० लाख, बहाल करबाट रु ९१ लाख र स्वास्थ्य सेवा करबाट रु एक लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा रु दुई अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । चालु आवमा रु तीन अर्ब आठ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

“करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ”, उनले भने, “आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सङ्कलनमा कमी आएको छ ।” कार्यालयको आव २०७९/८० मा रु तीन अर्ब ३६ करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु दुई अर्ब ५७ करोड ९८ लाखमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १५:०३