२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

जसपाका पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

३ वैशाख, काठमाडौं । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा साहमाथि आक्रमण भएको हो ।

आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनामा साहसहित चार जना घाइते छन्। राजेन्द्र महतो, निकेश साह र रवि पासवान घाइते रहेका छन् ।  साहलगायतमाथि कुटपिट गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आर्यन चौधरी, सिद्धानज्त चौधरी र सरोज माझीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १२:१२