१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेकाे विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका चार, नेकपा एसका एक र स्वतन्त्र एक जना सदस्यसहित ४८ मत प्राप्त गरेले प्रदेशसभाका सभामुख तुलाराम घर्तीले घोषणा गरेका थिए । ८६ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २६ र जनमत पार्टीका दुई जना गरी २८ मत परेको सभामुख घर्तीले घोषणा गरेका थिए ।

यसअघि बैठकमा विश्वासको प्रस्ताव राख्दै मुख्यमन्त्री महराले सबैको अपनत्व हुनेगरी काम गर्ने भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकारले वार्षिक तालिका (क्यालेण्डर) बनाएर विकासका योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री महरा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १६:४५