२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

२८ चैत, महेन्द्रनगर (कञ्चनपुर) । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ ।

दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिएयो । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु पनि शव लिन नैनीताल पुगेका बताए ।

“अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।” उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल पुगिसक्ने बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए। “मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँत नियमित सम्र्पक गरिरहनुभएको छ”, उनले भने, “नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ ।”

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ ।

सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १६:२८