१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीले लिए शपथ

२५ चैत, लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचाैँ मुख्यमन्त्री बनेका छन् ।

यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा (एमाले)सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरेका थिए ।

यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १६:२६