एमाले सोलुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित
२५ चैत, सल्लेरी (सोलुखुम्बु) । नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी भएका हुन् । उनले दुई सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले एक सय २५ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा आशकुमार राई दुई सय ७७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे । सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् ।
उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो ।
प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १२:४१