१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

सरकारले नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्षलाई बर्खास्त गर्दै

२२ चैत, काठमाडाैं । सरकारले नेपाल टेलिभिजन र गोरखापत्र संस्थानको अध्यक्षलाई बर्खास्त गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको अध्यक्ष समिरजंग शाह र गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीलाई बर्खास्त गर्न लागेको हो ।

यसअघि सञ्चार मन्त्री रेखा शर्माले छुट्टाछुट्टै मन्त्रालयमा बोलाएर दुबै जनालाई मार्गप्रशस्त गर्न अनुरोध गरेकी थिइन । सो भेटमा सुवेदी र शाह लगायतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेर राजीनामा दिने बताएका थिए । तर दुई साता हुन लाग्दा पनि राजीनामा नदिएपछि बर्खास्तगीको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको हो ।

यसअघि गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका थिए । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार गरेकोलगायत आरोप लगाएर त्यहाँ क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन–२०६३, प्रेस सेन्टर, गोरखापत्र शाखा र श्रमजीवी पत्रकार संघ, गोरखापत्र शाखा संयुक्त रूपमा सुवेदीविरुद्ध आन्दोलनमा उत्रिएका थिए ।

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सरकारले नियुक्ति गरेर पठाउने र त्यस्ता व्यक्तिले समय बाँकी नै भए पनि आफूलाई सिफारिस गरी पठाउने दल सरकारबाट बाहिरिएलगत्तै राजीनामा दिएर मार्गप्रशस्त गर्ने परम्परा छ । तर ०७८ असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्ति पाएर गोरखापत्रको नेतृत्व सम्हाल्न पुगेका सुवेदीले सो दल प्रतिपक्ष भूमिकामा पुगे पनि अहिलेसम्म राजीनामा दिएका छैनन् । यसअघि ०७९ पुसमा माओवादी–एमाले गठबन्धनको सरकार गठन हुँदा पनि सुवेदीलाई राजीनामा दिन तीव्र दबाब परेको थियो । तर त्यसको दुई महिनापछि पुनः माओवादी युटर्न भएर कांग्रेससँग सहकार्य गर्न पुगेपछि भने उनलाई राहत मिलेको थियो । १२३ वर्ष लामो इतिहास बोकेको गोरखापत्र दैनिकमा कार्यकारी अध्यक्षको राजीनामा माग गरेर पहिलो पटक कर्मचारी आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:१९