९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

महिला हिंसाका आरोपी भट्टलाई लण्डनको पर्यटनदूत बनाउन चलखेल

८ मंसिर, लण्डन । बेलायतका लागि पर्यटन दूतका रुपमा बिवादास्पद ब्यापारी बिराज भट्टलाई नियुक्त गर्ने चलखेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ देखाएर विवादास्पद व्यापारी भट्टलाई बेलायतका लागि पर्यटन दूत बनाउने प्रक्रिया सुरू भएको दैनिकीले तथ्य फेला पारेको छ ।

प्रवासी नेपाली मञ्चका केही पदाधिकारीले नेपालको सार्वजनिक छविमा दाग लगाउन भट्टलाई पर्यटन दूत बनाउन नेता नेपाललाई सहमत गराएको र उनीमार्फत नै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रबिन्द्र अधिकारीलाई नाम सिफारिश गरेको मञ्चका एक सदस्यले बताएका छन । ‘माधव कमरेडलाई इमान, जमान, नैतिकतादेखि पर्यटक भित्र्याउनेसम्मको क्षमता भट्टसँग छ भन्दै फसाउने काम भयो, जीवनभर महिलाको सवालमा तलमाथि गर्नेप्रति कठोर नेता नेपालकै बदनाम गर्ने काम भयो,’ मञ्चका ती सदस्यले भने ।

बेलायतमा बिवादास्पद ब्यापारीका रुपमा रहेका भट्टमाथि महिला हिंसाको गम्भीर आरोप लागेको छ । भट्टमाथि नेपालकै एक युवतीले आफूसँग बिहे गर्ने भन्दै लामो समय आफूसँग श्रीमतीकै रुपमा सम्बन्ध कायम गरी चरम शारीरिक शोषण गरेको भन्दै मुद्दा समेत हालेकी छिन । भट्टमाथि यसरी आरोप लगाउने युवती लण्डनमै रहेकी ललितपुर निवासी क्षमता ढकाल हुन । उनले सार्वजनिक रुपमा भट्ट र आफूबीचको सम्बन्ध खोल्दै हिंसा गरेको बताएकी थिइन ।

तस्बीरमा दायाँबाट पहिलो नम्बरमा रहेका व्यवसायी विराज भट्ट नेकपाका नेता माधव नेपालसँग वेलायतमा ।

नेकपाका बरिष्ठ नेता नेपाल लण्डन भ्रमणमा रहेको बेला समाजसेवी, कँही दाग नलागेको भन्दै प्रवासी नेपाली मञ्चका केही पदाधिकारीले भट्टलाई बेलायतका लागि पर्यटन दूत बनाउन मनाएको बताइएको छ । मञ्चका ती सदस्यका अनुसार पर्यटन दूत सिफारिश भएका भट्ट सत्तारुढ दल नेकपाका समर्थकसमेत होइनन ।

महिलामाथि यौन शोषण गरेको सार्वजनिक आरोप लागेका ब्यापारी बिराज भट्टलाई पर्यटन दूत बनाउने कुराले बेलायतस्थित प्रवासी नेपाली मञ्चमै बिवाद देखिएको छ । नेकपाका बरिष्ठ नेता नेपाल र पर्यटनमन्त्री रबिन्द्र अधिकारीको सार्वजनिक रुपमै बदनाम गर्न भट्टलाई पर्यटन दूत बनाउने खोजेको भन्दै केहीले अापत्ति समेत जनाएका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १८:४८