श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा शुरु
८ मंसिर, काठमाडाै । करीब ३५० वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा शुक्रबारदेखि चावहिल क्षेत्रमा शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।
नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको विश्वास गरिन्छ । जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइयो ।
चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता समेत छ ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो ।
पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् आज बिहान श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइएको जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो ।
“जात्राको दोस्रो दिन आज गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा, लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”, उहाँले भन्नुभयो ।
यसैगरी आज श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुबै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ ।
मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुबै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिका सदस्य जीतेन्द्र श्रेष्ठले बताउनुभयो । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ ।
मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा सोमबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।
प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १६:१०












