२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएका थिए ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १४:१३