१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने प्रधानमन्त्रीको घोषणा

४ चैत, कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन । आइतवार कास्कीमा प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताए ।

“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

यसअघि आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्रीले इमानको ध्यानाकर्षण बुझ्दै सरकार यस विषयमा सकारात्मक रहेको र आगामी दिनमा माग पूरा गर्न नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही बमोजिम आइतबार प्रधानमन्त्रीले कास्कीमा नेपाल पत्रकार महासंघको कार्यक्रममा मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने प्रतिवद्धता जनाएका छन । बजेटको पूर्व तयारीको सन्दर्भमा प्रधानमन्त्रीले देखाएको सार्वजनिक प्रतिवद्धताले आगामी आर्थिक वर्षदेखि नै मिडियाले राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता  पाउने सम्भावना देखिएको छ ।

यो पनि पढ्नुहोस्,

सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष इमानको आग्रह

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:१२