७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

इटहरीमा बर्षैभरि महिला हिंसा विरुद्ध अभियान चलाइने

-लिरा भटटराई
७ मंसिर, इटहरी । इटहरीमा १६ दिनमात्र होइन बर्षैभरि महिला हिंसा विरुद्धको अभियान चलाइने भएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले पत्रकार सम्मेलन गरि “लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” भन्ने मुल नाराका साथ मंसीर ९ गते देखि अभियान संचालन गरिने जानकारी दिएकी हुन् ।

उनले इटहरीलाई लैङ्गिक हिंसा मुक्त वनाउन कुनै कसर वाँकी नराखिने बताइन । उपमेयर गौतमले १६ दिने अभियानले मात्र नपुग्ने भएकाले पहिलो बर्षमै परिणाम देखिने गरि लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिने समेत बताइन। लैङ्गिक हिंसा विरुद्धको अभियानलाई वजारमा मात्र नभई टोल वस्ति सम्मनै पुर्याइने भएको छ ।

१६ दिने कार्ययोजना सार्वजनिक गर्दै यो अवधिमा वस्ति स्तरमा समेत प्रत्येक वडा कार्यालयको संयोजनमा कम्तिमा १ कार्यक्रम गरिने जनाइयो । सो अभियानमा पुरुषको समेत शशक्त सहभागिताका लागि विशेष कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको प्रतिकार समूह वनाइने
पत्रकार सम्मेलनमा उपमेयर गौतमले इटहरीका वडा वडामा लैङ्गिक हिंसा विरुद्धको प्रतिकार समूह वनाइने जानकारी दिए । प्रतिकार समितिले वडा कार्यालय र वडा मेलमिलाप समितिको प्रत्यक्ष सम्पर्कमा रहेर हिंसा न्यूनिकरणमा काम गर्ने छ ।

न्यायिक र मेलमिलाप समिति प्रभावकारी वन्दै
इटहरीमा न्यायिक समिति र वडा वडामा गठित मेलमिलाप समिति प्रभावकारी वन्दै गएको पत्रकार सम्मेलनमा उपमेयर गौतमले जानकारी दिइन् । १६ महिनाको अवधिमा न्यायिक समितिमा १ सय ३७ वटा मुद्धाहरु आएका छन । ती मध्ये २२ वटाको न्यायिक समितिवाट निर्णय भएको छ । २० वटा मिलापत्र भएका छन । ६२ वटा मुद्धा प्रक्रियामा रहेका छन । २० वटा वडा मेलमिलाप केन्द्रवाट १सय ३० विवादमा मेलमिलाप भएको छ । मेलमिलापको प्रक्रियामा दुवै पक्षको जीत जीत हुने भएकाले सर्वसाधारण खुशि भएका छन । मुद्धा मामिलामा समय र पैसा दुवै लाग्ने तर आफनै गाँउ ठाँउमा विना खर्च मेलमिलाप हुने गरेकोले सर्वसाधारण उत्साहित भएका हुन ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १९:३२