१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

वाइडबडी खरिद प्रकरणकाे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन

७ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न तीन संसदीय उपसमिति गठन भएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तीन सदस्यीय उपसमिति गठन गरेको हो ।


प्रकासमान सिंहकाे संयाेजकत्व रहेकाे उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य रहेका छन् । एक महिनाभित्र प्रतिवेदन बुझाउन उपससमितिलाई समय दिइएकाे छ । सांसदहरुले शुक्रबारको बैठकमा निगमले ल्याएको वाइडबडीको स्वामित्व कोसँग रहेको भन्ने प्रश्न उठाएका थिए । विमान किनेर ल्याइएको हो वा भाडामा ल्याइएको हो भन्ने विषयमा प्रष्ट हुन नसकेको भन्दै सांसदहरुले उपसमिति गठन गरी छानविन हुनुपर्ने माग गरेका थिए ।

बैठकमा मन्त्री र निगमका अधिकारीहरुले संसदीय समितिले गर्ने छानबिनमा सहयोग गर्ने आश्वासन दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटाले छानविनमा सहयोग नगर्ने कर्मचारीलाई प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १७:१९