७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

निर्मला पन्तका बुवा यज्ञराज छाेरीकाे न्याय माग्दामाग्दै डिप्रेसनमा !

७ मंसिर, काठमाडौँ । अाफ्नी छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै १३ दिनदेखि धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्त डिप्रेसनकाे शिकार भएका छन् । यज्ञराजकाे  शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । उनलार्इ केही दिनदेखि डिप्रेसन भएको चिकित्सकहरुले आशंका गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि १३ दिनदेखि  धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गरेकाे उनका परिवार स्राेतले जानकारी दिएकाे छ । पन्तले ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’ भन्ने गरेको  समेत धर्नामा बसेका उनका अाफन्तले बताएका छन् । कन्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे ।

उनका अनुसार थप उपचारका लागि काठमाडौँ लैजाने तयारी छ तर, परिवारका सदस्यहरुले निर्णय लिइसकेका छैनन् । परिवार को निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए । उनको सामान्य उपचारका लागि चिकित्सकको टोली धर्नास्थल पुगेको थियो ।

गएकाे साउन १० गते साथीको घर गएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसएसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १६:३३