१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

पुरानो गठबन्धन टुट्नु सकारात्मकः वरिष्ठ उपाध्यक्ष पोखरेल

२७ फागुन, कैलाली ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन् । प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गरे । उनले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताए ।

उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी पनि गरे । संरचनागत ढङ्गले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने र नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । उनले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट गरे । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १८:४०