८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
२५ फागुन, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि फागुन २९ गते मंगलबार दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।
यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ । इच्छुक खरिदकर्ताले प्रतिष्पर्धी वा अप्रतिष्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५% र १५% छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १२:३६












