२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नुवाकाेटकाे खरानीटार–दोर्खुखोला सडक निर्धारित समयभन्दा एक महिना अगावै सम्पन्न

२४ फागुन, नुवाकाेट । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने थियो । तर सो सडकको काम फागुन तेस्रो साता नै म्पन्न भएको छ ।
रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिइन् । पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ । सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड १२ लाख लागतको बोलपत्र आह्वान गरेको थियो । उक्त योजना रु ७५ लाख ९१ हजारमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताइन् ।
निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गरे । तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा करिब छ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुँदै सदरमुकाम विदुर र राजधानी काठमाडाैं आउजाउ गर्न सहज बनाएको छ ।
बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । दोर्खुखोलामा ४१ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १९:३३