१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिलो पटक अर्थमन्त्री हुुँदा बजेट प्रस्तुत गर्न नपाएका वर्षमानको दोस्रो कार्यकाल कस्तो होला ?


२३ फागुन, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।

“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने  उनले बताए ।

अर्थमन्त्री पुनले कार्यभार सम्हाले लगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन । त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन ।

विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन  २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए । विसं २०६८ मा अर्थमन्त्री बने पनि उनले वार्षिक बजेट ल्याउन पाएका थिएनन ?  उनी  २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए ।

विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव छन । रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनी कानुन सङ्कायमा स्नातक छन । विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मिएका हुन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार २१:४४