२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

शालिन पोखरेलको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिको निर्देशन

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनामा सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

गत फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल  विद्यालयको छात्राबासमा मृतअवस्थामा फेला परेकी थिइन् ।

बैठकले बालिकाको मृत्युबारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १६:५४