२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

राष्ट्रिय सभाका २० सदस्यको बिदाइ आज, नवनिर्वाचितको शपथ सोमबार

२० फागुन, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । राष्ट्रपतिबाट निर्वाचित मनोनीत एकसहित राष्ट्रिय सभाका २० सांसदको पदावधि आजबाट सकिएको हो।

आजबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक/एक जना छन्।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदाइ हुँदैछन्। एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ र माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुँदैछन्। त्यस्तै जसपाकी प्रमिला देवी, नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा र खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे ११ बजे संसद भवनको ल्होत्से हलमा हुनेछ । उनीहरूलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने छिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ११:३८